देउसी–भैलोमा परम्पराभन्दा देखावटी बढ्दै, मौलिक संस्कृति संकटमा

धनगढी । नेपाली समाजमा तिहार भन्नासाथ झिलिमिली बत्ती, फूलमाला, दियो, मिठाई र देउसी–भैलोको झल्को आउँछ। तिहारलाई अन्य पर्वभन्दा विशेष बनाउने एउटा महत्वपूर्ण पक्ष देउसी–भैलो पनि हो। घरआँगनमा पुगेर गीत गाउने, नाच्ने, आशीर्वाद दिने, शुभकामना साटासाट गर्ने र आपसी सद्भाव कायम गर्ने परम्पराले देउसी–भैलोलाई नेपाली मौलिक संस्कृतिको अभिन्न अंग बनाएको छ। तर पछिल्ला वर्षहरूमा यही सांस्कृतिक परम्परा आफ्नो मौलिक पहिचानबाट टाढिँदै गएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ।
कुनै समय देउसी–भैलो तिहारको सांस्कृतिक उत्सवका रूपमा सीमित थियो। गाउँघरका बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म समूह बनाएर घरघर पुग्थे। मादल, बाँसुरी, झ्याली र अन्य परम्परागत बाजाको तालमा देउसी तथा भैलोका गीत गाइन्थे। गीतमार्फत घरधनीको प्रशंसा गर्ने, परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने चलन थियो। घरधनीले पनि आफ्नो क्षमताअनुसार दक्षिणा, अन्नपात तथा खानेकुरा दिएर देउसेभैलोलाई सम्मानपूर्वक बिदाइ गर्ने गर्थे।
त्यतिबेला देउसी–भैलो केवल मनोरञ्जनको माध्यम थिएन, सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर पनि थियो। वर्षभरि कामको व्यस्तताले भेटघाट गर्न नपाएका आफन्त, छिमेकी र गाउँलेबीच भेटघाट हुने वातावरण देउसी–भैलोले बनाउँथ्यो। एकअर्काको घरमा पुगेर शुभकामना दिने, दुःखसुख साट्ने र सामूहिक रूपमा रमाइलो गर्ने अभ्यासले समाजमा आत्मीयता बढाउँथ्यो। यसले नयाँ पुस्तालाई आफ्नो भाषा, भाका, लोकगीत र सांस्कृतिक पहिचानसँग जोड्ने कामसमेत गर्थ्यो।
तर अहिले देउसी–भैलोको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ। समयसँगै प्रविधि र आधुनिक मनोरञ्जनका साधन भित्रिनु स्वाभाविक भए पनि मौलिक परम्परालाई नै विस्थापित गर्ने गरी परिवर्तन हुन थालेपछि यसको सांस्कृतिक महत्त्वमाथि प्रश्न उठ्न थालेको हो। परम्परागत देउसी र भैलोका गीतको सट्टा आधुनिक चलचित्रका गीत, पप तथा रिमिक्स गीतमा नाच्ने प्रवृत्ति बढेको छ। कतिपय समूहले देउसी–भैलोको परम्परागत भाकालाई बेवास्ता गर्दै ठूलो ध्वनि प्रणाली र आधुनिक बाजागाजालाई प्राथमिकता दिन थालेका छन्।
आधुनिक गीतमा नाच्नु वा प्रविधिको प्रयोग गर्नु आफैँमा गलत होइन। संस्कृति समयअनुसार परिवर्तन हुन सक्छ र नयाँ पुस्ताको रुचिलाई पनि स्थान दिनुपर्छ। तर परिवर्तनका नाममा पुराना गीत, भाका, शब्द र संस्कारलाई पूर्ण रूपमा बिर्सनु भने सांस्कृतिक पहिचान कमजोर बनाउने विषय हो। नयाँ पुस्ताले देउसी–भैलोको वास्तविक अर्थ, यसको ऐतिहासिक पृष्ठभूमि र यससँग जोडिएका सामाजिक मूल्य बुझ्न नपाउने अवस्था सिर्जना हुनु चिन्ताको विषय बनेको छ।
अर्कोतर्फ देउसी–भैलोका नाममा रकम संकलन गर्ने प्रवृत्तिले पनि परम्पराको गरिमामाथि प्रश्न उठाएको छ। पहिले घरधनीले स्वेच्छाले दिएको दक्षिणालाई सम्मानपूर्वक स्वीकार गर्ने चलन थियो। अहिले कतिपय ठाउँमा देउसी–भैलो खेल्ने समूहले निश्चित रकम तोक्ने, अपेक्षाअनुसार पैसा नदिए असन्तुष्टि जनाउने र रकम दिन दबाब दिने गरेको गुनासो सुनिन्छ। कतिपय अवस्थामा घरधनीको आर्थिक अवस्था र इच्छालाई बेवास्ता गर्दै रकम माग्ने प्रवृत्तिसमेत देखिन्छ।
देउसी–भैलो खेल्न आउने समूहलाई खाली हात फर्काउन नहुने सामाजिक मान्यता अझै पनि धेरै ठाउँमा छ। यही मान्यताको फाइदा उठाउँदै कतिपयले देउसी–भैलोलाई आर्थिक संकलनको माध्यम बनाएको देखिन्छ। विशेषगरी समूह बनाएर आउने केही युवाले घर, पसल, कार्यालय तथा विभिन्न संस्थामा पुगेर ठूलो रकम माग्ने गरेको पाइन्छ। स्वेच्छाले सहयोग गर्नु र दबाब दिएर रकम लिन खोज्नु फरक कुरा हुन्। देउसी–भैलोको नाममा कसैलाई आर्थिक भार पर्ने गरी व्यवहार गर्नु यसको मूल भावनाविपरीत हो।
त्यसैगरी, मदिरा सेवन गरेर देउसी–भैलो खेल्ने, राति अबेरसम्म चर्को आवाजमा गीत बजाउने, सडक तथा सार्वजनिक स्थानमा आवतजावतमा अवरोध पुर्याउने र छिमेकीलाई असहज हुने गरी गतिविधि गर्ने प्रवृत्तिले पनि समस्या थपेको छ। तिहार सबैका लागि खुसी र उत्सवको समय भए पनि बिरामी, वृद्धवृद्धा, बालबालिका तथा परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई चर्को आवाजले असर पार्न सक्छ। सार्वजनिक उत्सव मनाउने नाममा अरूको शान्ति र सुविधालाई बेवास्ता गर्नु उचित हुँदैन।
अहिले सामाजिक सञ्जालको प्रभावले पनि देउसी–भैलोको स्वरूपमा परिवर्तन ल्याएको छ। टिकटक, फेसबुक र अन्य माध्यममा भिडियो राख्ने, आकर्षक नृत्य देखाउने तथा धेरै दर्शक र प्रतिक्रिया बटुल्ने प्रतिस्पर्धा बढेको छ। यसले कतिपय अवस्थामा सांस्कृतिक प्रस्तुतिभन्दा देखावटी र प्रचारमुखी गतिविधिलाई प्राथमिकता दिएको देखिन्छ। देउसी–भैलो खेल्नुभन्दा त्यसको भिडियो कसरी आकर्षक बनाउने भन्नेमा बढी ध्यान जाने प्रवृत्तिले पनि परम्पराको मौलिक पक्ष ओझेल पर्ने गरेका छन्।
यद्यपि सबै परिवर्तनलाई विकृति भन्न मिल्दैन। नयाँ पुस्ताले देउसी–भैलोलाई नयाँ शैलीमा प्रस्तुत गर्नु, गीतमा आधुनिक संगीत मिसाउनु र सामाजिक सन्देश दिने सिर्जना गर्नु सकारात्मक पक्ष पनि हुन सक्छ। कतिपय समूहले देउसी–भैलोबाट संकलित रकम सामाजिक सेवा, असहाय तथा विपन्न परिवारलाई सहयोग, विद्यालय तथा सामुदायिक काममा खर्च गर्ने गरेका छन्। यस्ता अभ्यासले परम्परालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने अवसर प्रदान गरेका छन्। तर संकलित रकमको पारदर्शिता र त्यसको उद्देश्य स्पष्ट हुनु आवश्यक छ ।
देउसी–भैलोको अर्को महत्वपूर्ण पक्ष पुस्तान्तरण हो। हिजोका पुस्ताले गाएका गीत र अपनाएका संस्कार आजका बालबालिकाले सिक्न सकेनन् भने भोलि ती परम्परा पुस्तक र स्मृतिमा मात्र सीमित हुन सक्छन्। त्यसैले विद्यालय, परिवार र समुदायले नयाँ पुस्तालाई परम्परागत देउसी–भैलोका गीत, भाका, शब्द र सांस्कृतिक महत्त्वबारे जानकारी गराउन आवश्यक छ। स्थानीय स्तरमा मौलिक देउसी–भैलो प्रतियोगिता आयोजना गर्ने, पुराना लोकगीतको संरक्षण गर्ने र परम्परागत बाजागाजालाई प्रोत्साहन गर्ने कामले यसलाई जीवन्त राख्न सक्नेछ ।











