बाजागाजा र सांस्कृतिक झाँकीसहित नेपाल संवत् मनाइँदै

२४ कार्तिक २०८३, मंगलवार ११:४९

काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा मनाउनुका साथै आफ्नो परम्परा र संस्कृतिअनुसार म्हः (आत्म) पूजा गरेर पर्व मनाइरहेका छन्।

नयाँ वर्षको अवसरमा काठमाडौं उपत्यकासहित नेवार समुदायको बाक्लो बसोबास रहेका विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ। काठमाडौंको ऐतिहासिक वसन्तपुर क्षेत्रमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत्को स्वागत गरेका छन्। विभिन्न सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा र सामूहिक उत्सवले पर्वको रौनक बढाएको छ।

नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् इस्वी संवत् ८८० मा सर्वसाधारणको ऋणमोचन गराएर यस संवत्को सुरुवात गरेको ऐतिहासिक मान्यता छ। जनताको ऋणभार हटाएर नयाँ युगको सुरुवात गरेको सम्झनामा नेपाल संवत् प्रचलनमा ल्याइएको विश्वास गरिन्छ।

इतिहासअनुसार लिच्छविकालीन राजा राघवदेवको शासनकालमा नेपाल संवत् सुरु भएको थियो। यसअघि नेपालमा शक संवत् प्रचलनमा रहेको उल्लेख पाइन्छ। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। पछि यसको प्रचलन कमजोर हुँदै गए पनि नेवार समुदायले सांस्कृतिक तथा सामाजिक परम्पराका रूपमा निरन्तरता दिँदै आएका छन्।

नेपाल संवत्लाई राष्ट्रिय पहिचान र मौलिक इतिहाससँग जोडेर राष्ट्रिय मान्यता दिलाउने प्रयास विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै हुँदै आएको थियो। लामो समयको अभियानपछि सरकारले विसं २०६५ मा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको थियो।

नेपाल संवत्को नयाँ वर्ष नेवार समुदायका लागि केवल पात्रो परिवर्तनको दिन मात्र नभई मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीकसमेत हो। यस अवसरमा नयाँ वर्षको सुरुवातसँगै म्हः पूजा गर्ने परम्परा पनि रहेको छ। म्हः पूजामा आफ्नै शरीर तथा आत्माको सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*