जीवन बीमकको नाफा १ अर्ब ७४ करोडः अग्रस्थानमा सन नेपाल, वृद्धिदरमा आक्रामक प्रभु महालक्ष्मी

३० कार्तिक २०८३, सोमबार ०६:४५

काठमाडौँ । तीन महिनामा जीवन बीमा कम्पनीहरुले पौन २ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १ अर्ब ७४ करोड ३९ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत आर्थिक वर्ष २०८२।०८३ को सोहि अवधिको तुलनामा भने ११.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ अर्ब ९६ करोड ६९ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

सर्वाधिक नाफा आर्जन गर्ने पहिलो नम्बरमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले तीन महिनामा सबैभन्दा धेरै २४ करोड ४९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२६ प्रतिशतले बढी हो । गत वर्ष सो अवधिमा कम्पनीले २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको तथ्याङले देखाएको छ ।

धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफले २२ करोड ९० लाख ६९ हजार रुपैयाँ कमाएको छ । तर, उक्त नाफा आर्थिक वर्षको तुलनामा ११.३९ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको एशियन लाइफले चालु आर्थिक वर्षको सोहि अवधिमा ५.७९ प्रतिशतले बढेर १६ करोड १३ लाख रुपैयाँ पुराएको छ ।

प्रायः प्रथम स्थानमा रहदै आइरहेको नेपाल लाइफको नाफा खस्किँएको छ । तीन महिनामा कम्पनीको नाफा २८.७५ प्रतिशतले घटेर १५ करोड ३५ लाख रुपैयाँमा सीमित भएको हो ।

समिक्षा अवधिमा सानिमा रिलायन्सको नाफा ०.४० प्रतिशतले बढेर १५ करोड २ लाख, आइएमई लाइफको १०.७८ प्रतिशतले घटेर १४ करोड १२ लाख, नेशनल लाइफको १०.७९ प्रतिशतले घटेर १२ करोड ५६ लाख, सूर्य ज्योति लाइफको १५.९५ प्रतिशतले घटेर १० करोड २९ लाख र सिटिजन्स लाइफको २३ प्रतिशतले घटेर १० करोड ६६ हजार रुपैयाँ पुगेको छ ।

यता, हिमालयनको नाफा २२ प्रतिशतले घटेर ९ करोड ९० लाख रुपैयाँ रहेको छ भने एलआईसी नेपालको १०.५२ प्रतिशतले घटेर ९ करोड ६९ लाख रुपैयाँ रहेको पहिलो त्रैमाससम्मको विवरणले देखाएको छ ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा ४५.८९ प्रतिशतले बढेर ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

मेट लाइफको नाफा ५ करोड २३ लाख रुपैयाँ रहेको छ । साथै सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी भने ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनी ६५ लाख ४४ हजार रुपैयाँ घाटामा देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १२ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*