प्रभु इन्स्योरेन्सको नाफा बढेर ६ करोड ६८ लाख पुग्यो, बीमाशुल्क आर्जन ४७ प्रतिशतले वृद्धि

३० कार्तिक २०८३, सोमबार ०६:५६

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.८० प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको हो।

कम्पनीको आम्दानीमा पनि सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा २४ करोड ३३ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २५.०८ प्रतिशतले वृद्धि गर्दै ३० करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको खुद आर्जित बीमाशुल्क आम्दानीमा अझ राम्रो वृद्धि देखिएको छ। गत वर्षको असोज मसान्तसम्म १२ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ४७.२५ प्रतिशत बढी हो।

बीमालेख संख्यामा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ हजार ५०३ वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३० हजार ९०३ वटा बीमालेख जारी गरेको छ। एक वर्षको अवधिमा कम्पनीले थप ५ हजार ४०० वटा बीमालेख जारी गरेको हो। यता कम्पनीले बीमितलाई गर्ने दाबी भुक्तानी पनि बढाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ हजार ९९२ वटा दाबीबापत १४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ। गत वर्षको सोही अवधिमा २ हजार ६८५ वटा दाबीबापत १० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसअनुसार दाबी संख्या र भुक्तानी रकम दुवै बढेका छन्।

कम्पनीको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ७ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ८ अर्ब १० करोड ८४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको छ। त्यस्तै विशेष जगेडा कोषमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ यो गत आवमा १४ रुपैयाँ ८५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ११ पैसा र प्रतिशेयर कुल सम्पत्ति ४३८ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै सोल्भेन्सी मार्जिन अनुपात ५.४८ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*