काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने तयारी तीव्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी थालेको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था र पूर्वाधार सुनिश्चित गर्ने विषयमा रणनीतिक तयारी भइरहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल काठमाडौंका दरबारमार्ग र ठमेललगायतका क्षेत्र चौबिसै घण्टा खुला रहने व्यवस्था छ। अब भने जिल्लाका अन्य बजार तथा व्यावसायिक क्षेत्रलाई समेत २४ घण्टा सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने तयारी गरिएको हो ।
यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुका साथै सुरक्षा, आपूर्ति र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ। प्रस्तावित व्यवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, विभिन्न विभाग तथा सरकारी कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिसँग समन्वयात्मक बैठक आयोजना गर्ने जनाएको छ । आवश्यक तयारी र समन्वय पूरा भएपछि मात्र काठमाडौंका सम्पूर्ण क्षेत्रमा चौबिसै घण्टा व्यापार तथा व्यवसाय सञ्चालन गर्ने निर्णय गरिनेछ ।
कार्यालयले काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने निर्णय नभएसम्म दरबारमार्ग र ठमेलजस्ता यसअघि नै २४ घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीलाई तोकिएको पुरानै समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह समेत गरेको छ ।












