त्रिभुवन विमानस्थलबाट करिब दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

२ मंसिर २०८३, बुधबार १२:५१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याइएको १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन्।

प्रहरीका अनुसार आज मंसिर २ गते बिहान करिब १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङमाथि शंकास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो। सो क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएका चार थान गोलाकार पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

भन्सार क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा उक्त पदार्थ बरामद गरिएको हो। प्रहरीले वाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*