धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण प्रणाली मूल्याङ्कन गर्न टोरोन्टो सेन्टरको टोली नेपालमा

काठमाडौं । नेपालको धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण प्रणालीको वर्तमान अवस्था मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय संस्था टोरोन्टो सेन्टरको प्रतिनिधिमण्डल र नेपाल धितोपत्र बोर्डका उच्चपदस्थ कर्मचारीबीच छलफल तथा अन्तरक्रिया भएको छ ।
वित्तीय क्षेत्रका नियामक निकायको क्षमता अभिवृद्धि गरी प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले स्थापित टोरोन्टो सेन्टरको प्रतिनिधिमण्डलले कात्तिक ३० र मंसिर १ गते बोर्डका उच्चपदस्थ कर्मचारीसँग छलफल गरेको हो ।
छलफलका क्रममा नेपालको धितोपत्र बजारको कानुनी तथा नियामकीय व्यवस्था, बजारको समग्र अवस्था, संस्थागत स्रोतसाधन, बजारका सहभागी, उपलब्ध वित्तीय उत्पादन तथा उपकरण र बजार आचरणका विषयमा प्रस्तुतीकरण गरिएको थियो । बोर्डका कार्यकारी निर्देशकसहित उच्चपदस्थ कर्मचारीले लगानीकर्ताका गुनासा तथा उजुरी व्यवस्थापन, वित्तीय सेवामा उपभोक्ताको पहुँच र वित्तीय साक्षरता अभिवृद्धिका विषयमा समेत जानकारी गराएका थिए ।
त्यसैगरी, धितोपत्र बजारको प्रभावकारी नियमन, बजारको विकास तथा विस्तार, जलवायु परिवर्तन र वातावरणीय जोखिमले वित्तीय प्रणालीमा पार्न सक्ने प्रभाव तथा हरित वित्त (ग्रीन फाइनान्सिङ) का लागि भएका पहलका विषयमा छलफल भएको थियो । बजार सहभागीका गतिविधिको निगरानी तथा सुपरिवेक्षणका लागि आवश्यक सूचना प्रविधि पूर्वाधार र संस्थागत क्षमताबारे पनि प्रतिनिधिमण्डलले जानकारी लिएको बोर्डले जनाएको छ ।
टोरोन्टो सेन्टरको प्रतिनिधिमण्डलले नेपालको वित्तीय क्षेत्रका नियामक निकायको नियमन तथा सुपरिवेक्षण प्रणालीको वर्तमान अवस्था मूल्याङ्कन गर्नुका साथै नियामकीय तथा सुपरिवेक्षकीय कार्यसम्पादनमा देखिएका चुनौती र आवश्यकताको विश्लेषण गरेको हो । उक्त मूल्याङ्कनका आधारमा संस्थागत क्षमता अभिवृद्धि तथा आवश्यक कार्ययोजना पहिचान गर्ने उद्देश्य रहेको छ ।











