अनियमित कर्जा प्रवाह र बैंकिङ नियम उल्लंघनमा प्रभु बैंकका दुई कर्मचारी बर्खास्त

काठमाडौं । प्रभु बैंकले कर्जा प्रवाह र बैंकिङ कारोबारमा नियमविपरीत काम गरेको आरोपमा चार जना कर्मचारीमाथि विभागीय कारबाही गरेको छ । कारबाहीमा पर्नेमा बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त र सुगेन शाक्यसहित चार जना रहेका छन् । बैंकले पन्त र शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई पद घटुवा र बढुवा रोक्ने निर्णय गरेको छ ।
बैंकले आवश्यक कानुनी प्रक्रिया र सुरक्षासम्बन्धी व्यवस्था पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा उपलब्ध गराएको ठहर गर्दै पन्तलाई सेवाबाट हटाएको हो । उनको बर्खास्ती गत कात्तिक २० गतेदेखि लागू हुने गरी निर्णय गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, सुगेन शाक्यलाई प्रभु ग्रुप इन्कसँग सम्बन्धित रेमिट्यान्स कारोबारमा पेस भएका स्ट्यान्डबाई लेटर अफ क्रेडिट (एसबीएलसी) तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियम र प्रक्रियाको पालना नगरेको भन्दै बर्खास्त गरिएको छ । उक्त कार्यले बैंकलाई ठूलो आर्थिक जोखिम र कानुनी दायित्व सिर्जना गर्न सक्ने निष्कर्षसहित बैंकले उनलाई पनि कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको हो ।
यसैगरी, कर्मचारीहरूबीच भएको सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै ठूलो संख्यामा कर्मचारीलाई अनधिकृत रूपमा इमेल पठाएको भन्दै सुदिप श्रेष्ठमाथि पनि कारबाही गरिएको छ । उनलाई कर्मचारी विनियमावलीअनुसार सहायक पदबाट जुनियर सहायकमा एक तह घटुवा गरिएको छ ।
अर्का कर्मचारी मधुसूदन न्यौपानेले तोकिएका कार्यविधि पालना नगरी काममा कमजोरी देखाएको ठहर गर्दै बैंकले उनको दुई वर्षसम्म बढुवा रोक्ने निर्णय गरेको छ ।











