सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चितवनमा बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिहरूका लागि चितवनमा आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले आगामी २०८३ मंसिर २४ गतेदेखि २७ गतेसम्म चार दिन तालिम सञ्चालन गर्न लागेको हो।
कम्पनीका अनुसार तालिममा सहभागी हुन इच्छुक व्यक्तिले कम्तीमा कक्षा १२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपि र पासपोर्ट साइजका तीन प्रति फोटोसहित निवेदन पेश गर्नुपर्नेछ। व्यक्तिगत अभिकर्ताका लागि तालिम शुल्क तीन हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले पनि आवश्यक कागजातसहित निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। संस्थागततर्फ सहभागी हुने सञ्चालकको पद बहालीसम्बन्धी प्रमाण, सञ्चालक समितिको निर्णय, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावली, भ्याट तथा प्यान दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र लेखापरीक्षण गरिएको वित्तीय विवरण पेश गर्नुपर्नेछ। साथै, सम्बन्धित सञ्चालकको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्र तथा प्रचलित कानुनबमोजिम कालोसूचीमा नरहेको प्रमाणसमेत आवश्यक पर्नेछ। संस्थागत सहभागिताका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
तालिम नारायणगढस्थित कम्पनीको शाखा कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। इच्छुक सहभागीले जुममार्फत पनि तालिममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। तालिममा अधिकतम ५० जनालाई मात्र सहभागी गराइने भएकाले पहिले निवेदन दर्ता गराउनेलाई प्राथमिकता दिइनेछ।












