बीमा समितिले तीन प्रदेशमा शाखा कार्यालयको लागि थाल्यो प्रक्रिया, घर बहालको लागि टेन्डर आह्वान

काठमाडौं । बीमा समितिले तीन प्रदेशमा शाखा कार्यालयको लागि प्रकृया थालेको छ । जसको लागि समितिले तीन प्रदेशका लागि घर बहालको लागि टेन्डर आह्वान गरेको छ । समितिले प्रदेश स्तरीय कार्यालय संचालनका लागि न्यूनतम २ हजार वर्गफिट भएको घर बहालमा लिन सूचना प्रकाशित गरेको हो ।
सुदुपश्चिम प्रदेश कार्यालयका लागि धनगढी उपमहानगपरपालिका मुख्य सडक खण्डको चटकपुर शहीद गेटदेखि चौराहा कुनै क्याम्प रोडसम्म, कर्णाली प्रदेश सुर्खेत कार्यालयका लागि वीरेन्द्रनगर न.पा स्थित वीरेन्द्रनगर चोक वरिपरी र मधेश प्रदेश कार्यालयका लागि वीरगञ्ज महानगरपालिका स्थित श्रीपुरदेखि आदर्शनगरसम्मको मुख्य सडक वा सोभन्दा भित्र ५०० मिटर भित्री सडकले छोएको हुनपर्ने सिमितले जनाएको छ ।
उक्त स्थानमा घर बहाल भएकाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र समितिको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने सक्नेछन् ।
बीमा समितिले संघीयतालाई कार्यान्वयन गर्दै सबै प्रदेशमा शाखाहरु खोल्ने प्रक्रिया सुरुवात गर्दैछ । समितिले पहिलो चरणमा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने तयारी सुरु गरेको जनाएको छ । जसको लागि घर वाहाल टेन्डर आह्वान गरेको हो ।
अर्थमन्त्रालयले संघीयता कार्यान्वयन गर्दै प्रदेशमा समेत शाखा कार्यालय स्थापना गरेर बीमाको पहुँच बृद्धिको लागि वातावरण बनाउन निर्देशन दिएसँगै शाखा कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।समितिको नयाँ शाखाहरु सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको राजधानी सुर्खेत र मधेश प्रदेशको राजधानी जनकपुरमा स्थापना हुनेछन् ।
बीमा समितिको सञ्चालक समितिले सो सम्बन्धी निर्णय गरिसकेको छ । नियामक निकाय बीमा समितिले जनताले सर्वसुलभ रुपमा बीमा सेवा प्राप्त गराउन छ वटा प्रदेशमा शाखा कार्यालय विस्तार गर्न लागेको हो । अहिले बीमितले सामान्य उजुरी दिन समेत संघीय राजाधनीको कुपण्डोलमा रहेको बीमा समितिको केन्द्रीय कार्यालयमा पुगेर उजुरी दिनुपर्ने बाध्यता रहँदै आएको छ । शाखा विस्तारसँगै बीमितहरुको गुनासोहरु प्रदेशमै सम्बोधन हुनेछन् ।













