आज काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन

काठमाडौं । सरकारले आज पहाडी क्षेत्रको होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन गरेको छ। काठमाडौं लगायत पहाडी जिल्लामा मनाइने होलीमा नियम उल्लंघनका साथै ट्राफिक दुर्घटनाको जोखिम हुने भएकाले आज बिहानै देखि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा १ हजार ३ सय ट्राफिक परिचालन भईसकेको महानगरी प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उपत्यकाभित्रको ६८ ठाउँमा चेक पोइन्ट राखिनेछ । सो पोइन्टमा मापसेदेखि सवारीको कागजपत्र चेक गरिनेछ । साथै दुईपांग्रे सवारीमा दुईजना भन्दा बढी बोकेर हिड्नेलाई कारबाही समेत गरिने महाशाखाले जनाएको छ ।
यसका साथै दु्र्घटनारहित र मर्यादित ढंगबाट आजको होली मनाउन मापसे सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा सवारी हाक्ने र मोडिफाई वा ठूलो आवाज निकालेर सवारी हाक्ने चालकलाई कारबाही गरिने प्रहरी महाशाखाले जनाएको छ।













