विकास बैंकहरुको कुल कर्जा रकम ४ खर्बमाथि, मुक्तिनाथ वाणिज्य बैंकहरुको दर्जामा

२५ मंसिर २०७९, आईतवार १३:५१

काठमाडौं । संचालमा रहेका ‘ख’ वर्गका इजाजतपत्र प्राप्त विकास बैंकहरुको कुल कर्जा रकम ४ खर्ब २३ अर्ब ८३ करोड १८ लाख रुपैयाँमाथि पुगेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार संचालनमा रहेका वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४ अर्ब नाघेको हो ।

त्यस्तै, यता विकास बैंकहरुले ४ खर्ब ९४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँमाथि निक्षेप संकलन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संचालनमा रहेका विकास बैंकहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।

सो परिमाणमा कर्जा प्रवाह हुँदा पनि विकास बैंकहरुको औसत निष्क्रिय कर्जाको अनुपात २.३२ प्रतिशत पुगेको छ । विकास बैंकहरुमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्ने र कर्जा परिचालन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

असोज मसान्तसम्म मुक्तिनाथले एक खर्ब ५ अर्ब ५६ करोड रुपैयाँमाथि निक्षेप संकलन गरेको छ । वाणिज्य बैंकहरुकै दर्जामा मुक्तिनाथ विकास बैंकले असोज मसान्तसम्म खर्बमाथि निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, मुक्तिनाथले सो अवधिसम्ममा ८८ अर्ब २ करोड ५० लाख रुपैयाँमाथि कर्जा प्रवाह गर्न सफल भएको छ ।

त्यस्तै, यता गरिमा विकास बैंकले पनि असोज मसान्तसम्म ५४ अर्ब ८५ करोडमाथि कर्जा प्रवाह गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकमध्ये गरिमाले असोज मसान्तसम्म ६८ अर्ब ९६ करोड रुपैयाँमाथि निक्षेप संकलन गरेको छ ।

त्यस्तै, कर्जा परिचालनमा ज्योति विकास बैंकको ४८ अर्ब, कामना सेवा विकास बैंकको ४२ अर्ब ७८ करोड, सांग्रिला डेभलपमेन्ट बैंकको ४२ अर्ब १४ करोड, लुम्बिनी विकास बैंकको ३७ अर्ब ७१ करोड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३७ अर्ब ३८ करोड, महालक्ष्मी विकास बैंकको ३६ अर्ब १९ करोड, एक्सेल डेभलपमेन्ट बैंकको १० अर्ब ७ करोड, मितेरी डेभलपमेन्ट बैंकको ४ अर्ब ७० करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको ४ अर्ब १८ करोड, सिन्धु विकास बैंकको ३ अर्ब ७१ करोड, कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २८ करोड, ग्रिन डेभलपमेन्ट बैंकको २ अर्ब ७३ करोड, कर्पोरेट डेभलपमेन्ट बैंकको ९४ करोड र नारायणी डेभलपमेन्ट बैंकको ४७ करोड रुपैयाँमाथि पुगेको छ ।

(स्रोतः बैंकहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*