लघुबीमाको लाइसेन्स वितरण रोक्न माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा माघ २९ गते सुनुवाई हुने

१८ माघ २०७९, बुधबार १०:३९

काठमाडौं । बीमा प्राधिकरणले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्न लागेको भन्दै परेको रिटमाथि यही माघ २९ गते सुनुवाई हुने भएको छ ।

२०७९ असोज २ गते दीपक कुमार बरालले दायर गरेको रिटमाथि असोज ५ गते नै पेशीमा चढेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भनेर दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी भएको थियो । त्यसयता, आठ पटक पेशीमा चढेर पनि हेर्न नभ्याइनेमा पर्दै आएको सो मुद्दा अब माघ २९ गते सुनुवाई हुने भएको हो ।

बीमा प्राधिकरणले निर्वाचन आचार संहिताकै बीचमा मंसिर ११ गते लघुबीमाको लाइसेन्सका लागि आशय पत्र लिन आउन सूचना जारी गरेको थियो । सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशले लाइसेन्स वितरण सम्बन्धी कार्य बदर गर्न माग गर्दै परेको रिटलाई वेवास्ता गर्दै बीमा प्राधिकरणले भटाभट लाइसेन्स दिने प्रक्रिया अघि बढाइरहेको छ । कानुन व्यवसायीहरुका अनुसार प्रक्रिया सुरु हुँदै दायर भएको रिट भएकोले उत्प्रेषणको आदेशद्धारा ७ वटै बीमा कम्पनीहरुको लाइसेन्स सुरुदेखि नै बदर हुनेसक्ने सम्भावना प्रबल छ ।

उक्त मुद्दा पटक पटक पेशीमा चढेर पनि हेर्न नभ्याईनेमा पर्दै आएको छ । हालसम्म नौ पटक पेशीमा चढेको मुद्दामा अझै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुन सकेको छैन ।

पछिल्लो पटक माघ ३ गते पोखरामा हवाई दुर्घटनापछि सार्वजनिक विदा दिएकाले पर सरेको पेशी यही १३ गते रवि लामिछानेको मुद्दाका कारण हेर्न नभ्याइनेमा परेको थियो । अब माघ २९ गतेका लागि पेशी तोकिएको छ । माघ २९ गते मुद्दाको अन्तिम फैसला नभई अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमाथि छलफल हुनेछ । अन्तरिम आदेश जारी भएमा तत्कालका लागि लघुबीमाको सबै च्याप्टर क्लोज हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*