लघुवित्तहरुको सापटी रकम बढ्यो, लगानीमा ५३ प्रतिशतको वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

५ चैत्र २०७९, आईतवार १२:०८

काठमाडौं। लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा थोक तथा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको हो ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन, २०७९’ प्रतिवेदनअनुसार पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको थोक कर्जाको ब्याज आम्दानी तीन अर्ब ३९ करोड रुपियाँ र ब्याज खर्च एक अर्ब ९१ करोड रहेको छ ।

समीक्षा अवधिमा थोक कर्जा दिने लघुवित्त वित्तीय संस्थाले ७९ करोड रुपियाँ खुद मुनाफा गरेका छन् । यो अघिल्लो वर्षको पुससम्ममा झन्डै ८२ करोड रुपियाँ थियो । यस वर्षको पुससम्मको मुनाफा अघिल्लो आर्थिक वर्षको असारको तुलनामा ४ दशमलव २० प्रतिशतले कम हो ।

समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा पनि उल्लेख्य ह्रास आएको छ । उक्त लघुवित्त वित्तीय संस्थाको २०७८ पुस मसान्तमा खुद मुनाफा पाँच अर्ब ८९ करोड रुपियाँ रहेकोमा ५८ दशमलव ९० प्रतिशतले ह्रास भई २०७९ पुस मसान्तमा खुद मुनाफा दुई अर्ब ४२ करोड रुपियाँमा झरेको छ ।

समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी २७ अर्ब ३३ करोड रुपियाँ र ब्याज खर्च १६ अर्ब पाँच करोड रुपियाँ रहेको छ । यस अवधिमा सञ्चालित ६० खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थामध्ये आठवटा लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा रहेको देखिएको छ ।

लघुवित्त वित्तीय संस्थाको पुँजी कोषको स्थिति समग्रमा सन्तोषजनक देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजी कोष क्रमशः १२ दशमलव २३ प्रतिशत र १३ दशमलव ४५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २ दशमलव २३ प्रतिशतले र जोखिम भारित सम्पत्ति १ दशमलव ०७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः १६ दशमलव ५७ प्रतिशत र १५ दशमलव ६० प्रतिशतले बढेको थियो ।इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन–२०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।

वित्तीय स्रोत सङ्कलन थोक कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको सापटी रकममा सामान्य वृद्वि भएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । समीक्षा अवधिमा थोक लघुवित्त वित्तीय संस्थाले ५० अर्ब रुपियाँ वित्तीय स्रोत सङ्कलन गरेका छन्, जुन २०७९ असार मसान्तको तुलनामा ५ दशमलव ५७ प्रतिशतले बढेको देखिएको छ
। आव २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा वित्तीय स्रोत सङ्कलनमा १० दशमलव ४९ प्रतिशतले वृद्वि भएको थियो । लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था रहेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा वित्तीय स्रोत सङ्कलन अघिल्लो त्रैमासको प्राथमिक पुँजीको ५ दशमलव ४१ गुणा रहेको छ ।खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाले बचत÷निक्षेप सङ्कलन रकम बढाएका छन् भने उक्त संस्थाले लिने सापटी रकममा सङ्कुचन आएको छ । २०७९ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाले बचत÷निक्षेप सङ्कलन एक खर्ब ६६ अर्ब ९३ करोड रुपियाँ र सापटी एक खर्ब ७७ अर्ब २६ करोड रुपियाँ गरी जम्मा तीन खर्ब ४४ अर्ब १९ करोड रुपियाँ वित्तीय स्रोत सङ्कलन गरेका छन् । उक्त बचत÷निक्षेप सङ्कलन र सापटी रकम आव २०७८÷७९ को दोस्रो त्रैमासमा क्रमशः ११ दशमलव ९९ र १४ दशमलव ३८ प्रतिशतले बढेकोमा यस आर्थिक वर्षको दोस्रो त्रैमासमा बचत÷निक्षेप सङ्कलन ४ दशमलव ९७ प्रतिशतले बढेको छ भने सापटी रकम ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको वित्तीय स्रोत सङ्कलन अघिल्लो त्रैमासको प्राथमिक पुँजीको ६ दशमलव ८४ गुणासम्म पुगेको छ । प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था रहेको छ ।

 

लघुवित्त वित्तीय संस्थाको लगानीमा वृद्वि भएको छ । २०७९ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाको कुल लगानी नौ अर्ब ३७ करोड रुपियाँ पुगेको छ, जुन २०७९ असार मसान्तको तुलनामा ५३ दशमलव ७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल लगानी ३२ दशमलव ६१ प्रतिशतले घटेको थियो ।

लघुवित्त वित्तीय संस्थाले मुद्दती निक्षेपमा २०७९ पुस मसान्तसम्म सात अर्ब ६१ करोड रुपियाँ राखेका छन्, जुन रकम २०७९ असार मसान्तको तुलनामा ७० दशमलव ८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ३८ दशमलव ०१ प्रतिशतले घटेको थियो । लघुवित्त वित्तीय संस्थाले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानीमा उल्लेख्य वृद्वि भएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*