मर्जर र लाभांश प्रस्तावसहित नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा

२० चैत्र २०७९, सोमबार १०:०९

काठमण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६.०३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ ।

सभाले समीट लघुवित्तसँगको मर्जर सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र तथा दुवै संस्थाको डीडीए गर्नका लागि युक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*