अन्तिम समयमा कर्जा रिकल गर्न नदिने गभर्नर अधिकारीको प्रष्टिकरण, ‘प्रमाण भेटिए कारवाही गछौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला व्यापारीले हरेक त्रैमासको अन्त्यमा ऋण रिकल गर्ने र साना व्यवसायीहरू कालोसूचीमा पर्ने अवस्था अन्त्य भएको प्रष्टिकरण दिएका छन् । गभर्नर अधिकारीले बैंकहरुले ऋण रिकल गरेको भेटिए कारवाही गर्ने दृढता व्यक्त गरेका छन् ।
समयमा कर्जाको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्न लागेका ऋणीहरुलाई पुरानो ऋण भुक्तानी गरेको देखाई ब्याजसहित नयाँ कायम हुन आएको असुली गर्नुपर्ने रकम बराबर ऋण प्रवाह भएको देखाउने कार्यलाई ऋण रिकल भनिन्छ । बैंकहरूले मनमौजी रुपमा ठूला व्यापारी र आफन्तलाई प्रवाह गरेको ऋण हरेक त्रैमासको अन्त्यमा यसैगरी नविकरण गरी ऋणीले रकम भुक्तानी नगरी हरहिसाब दुरुस्त गर्ने गर्दछन् ।
नेपाल राष्ट्र बैंकद्धारा हिजो आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले भने, ‘लोन रिकलको अन्त्य हामीले कार्तिक १ गतेबाटै गरिसक्यौं, अहिले त्यस्तो गर्न पाउने कुनै सम्भावना नै छैन ।’ पत्रकारहरुले ठूला व्यापारिक समुह अहिले पनि अर्बौ रुपैयाँ रिकलमा दौडिरहेको भन्दै राष्ट्र बैंकको एक्सनबारे प्रश्न गरेपछि गभर्नर अधिकारीले भने, ‘हामीले सूक्ष्म रुपमा मनिटरिङ गरिरहेका छौं ।’
गभर्नर अधिकारीले यस पटक कुनै पनि हालतमा ऋण रिकल गर्न नदिने स्पष्ट अडान लिँदै आएका छन् । बैंक र ठूला व्यापारी मिलेर फ्रड गरिरहेको तथ्य फेला पारेर नै गत कार्तिक १ गतेबाट ऋण रिकलको अन्त्य गरिएको बताउँदै त्यस्तो कार्यमा कुनै पनि बैंक वा बैंकका कर्मचारी भेटिएमा कारवाही गरिने बताए । बीमापोष्टसँग भने, चैत्र यताका ठूला ऋण छानविनमा पर्न सक्ने आशय व्यक्त गरेका छन् ।
गभर्नर अधिकारीले बैंकहरुले ऋण रिकल गरेको प्रमाण फेला परेमा बैंकमाथि नै कारवाही गर्ने बताएका छन् । गभर्नर अधिकारीले यस वर्ष धेरै बैंकहरुमाथि कारवाही गरिएको जनाउँदै रिकलमा सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।
अहिले आधा दर्जन बैंक मिलेर सह वित्तिय करणमा ऋण लिएका ऋणीहरुले कर्जा रिकल गर्न दौडधुप गरिरहेका छन् ।











