बैंक तथा वित्तीय संस्थाले २१ अर्ब रुपैयाँ कर योग्य रकम नदेखाएको महालेखाको ठहर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले जनाएको छ।महालेखा परीक्षकको कार्यालयले यस विषयमा छानबिन गरी कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।
३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले उल्लेख गरेको छ । उक्त आय बापत लाग्ने ६ अर्ब ४७ करोड ३५ लाख कर छानबिन गरी असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो ।बैंकहरुले नउठेको ब्याज आम्दानीलाई आय देखाएर कर तिर्नुपर्नेमा बैंकहरुले कर नतिरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।
‘नगदमा आधारित रहेर ब्याज आम्दानीको लेखांकन गर्दा बैंक तथा वित्तीय संस्थाले पाकेको तर, असुल हुन बाँकी ब्याजलाई नेपाल राष्ट्र बैंकले तोकेको ढाँचा बमोजिम वासलातको अन्य सम्पत्ति महल अन्तर्गत रही ब्याज मुल्तबी खातामा लेखांकन गर्ने गरेको देखिन्छ’, महालेखा प्रतिवेदनमा भनिएको छ, ‘यस्तो खातामा रहेको रकम एक्रुअल बेसिसमा लेखा राख्दा आयकर ऐनको दफा २२(६) को व्यवस्था बमोजिम आयमा समावेश गर्नुपर्नेमा बैंक तथा तथा वित्तीय संस्थाले ब्याज मुल्तबी खातामा रहेको रकमलाई आयमा समावेश नगरेको तथा कम रकम समावेश गरेको पाइयो।’
१२ वाणिज्य बैंक, १४ विकास बैंक र १३ फाइनान्स कम्पनी गरी ३९ करदाताले लेखा व्यवस्थानमा एनएफआरएस लागु गरेपछि मात्रै ब्याज मुल्तबी खातामा रहेको रकम भन्दा २१ अर्ब ५७ करोड ८५ लाख आय विवरणमा न्यून देखाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । उक्त रकमलाई आयमा समावेश गरी त्यसको ३० प्रतिशतले हुने ६ अर्ब ४७ करोड ३५ लाख कर असुलको लागि छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको हो ।
आयकर ऐन, २०५८ को दफा २२ (३) मा कम्पनीले कर प्रयोजनको लागि एक्रुअल बेसिस लेखांकन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही ऐनका दफा २४(३) मा बैंकिङ व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ सम्बन्धी कानूनको आधारमा नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्ने व्यवस्था रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।












