लाभांश घटेसँगै नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम बेच्न थाले शेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैंचि लगाएको छ ।
गत आव २०७८।७९ को मुनाफाबाट नेष्डो समृद्ध लघुवित्तले शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले घटाएर १७.९३ प्रतिशत मात्रै लाभांश वितरण गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले उक्त लघुवित्तको लाभांशमा कडाई गरी कैंचि चलाएपछि बम्पर लाभांश पाउने आशामा शेयर होल्ड गरेर बसेका शेयरधनीहरुले धमाधम शेयर बेच्न थालेका छन् । साताको तेस्रो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्तको साढे एक करोडमाथिको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य २.२३ प्रतिशतले घट्न पुगेको छ ।
बम्पर लाभांश पाउने आशामा बसेका शेयरधनीहरु राष्ट्र बैंकको निर्देशनसँगै नेष्डो समृद्ध लघुवित्तको शेयर धमाधम बेच्न थालेका छन् । यसकारण लघुवित्तको शेयरमूल्य समेत घट्न पुगेको छ ।
केन्द्रीय बैंकले यसअघि लघुवित्तहरुलाई सर्कुलर जारी गर्दै २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने निर्देशन दिएको थियो । यदि बाँड्नै परेमा लघुवित्तहरुले जगेडा कोषलगायतका विभिन्न कोषहरुमा थप रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको थियो ।
यता लघुवित्तका प्रबन्धक संचालक विश्व प्रकाश प्रसाईले नेष्डो लघुवित्तले केन्द्रीय बैंकले तोकेबमोजिमको सम्पूर्ण मापदण्ड पुर्याएतापनि ७३ प्रतिशत लाभांश वितरणमा रोक लगाएको बताएका छन् ।












