यसकारण बढ्यो निफ्राको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्मका निफ्राले १ अर्ब १६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५६.११ प्रतिशत र सञ्चालन मुनाफा ६७.३१ प्रतिशत बढेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८८ पैसा बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ४१.२९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशत बढेको छ ।












