अनैतिक माग बोकेर हिड्दै उद्योग बााणिज्य महासंघका अध्यक्ष ढकाल, बैंकका कर्जा नतिरेकालाई छुट दिन माग

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका पदाधिकारीलाई लिएर अनैतिक माग लिएर राजनीति सुरु गरेका छन् ।
महासंघको अध्यक्षमा निर्वाचित भए लगत्तै सुरु गरेको रणनीतिक भेटवार्तामा बैंकको कर्जा तिर्न नसकेका ठूलो उद्योगपति, व्यापारिक घरानालाई कर्र्जा नतिर्ने छुट दिनुपर्ने माग अघि सार्न थालेका छन् ।
बुधबार नव निर्वाचित पदाधिकारीहरुसहितको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्दै बैंकबाट ऋण लिएका ठूला व्यापारी तथा घरानालाई कर्जा पुनर्सरचना गर्न, रिकल गर्न र तिर्न नसकेको अवस्थामा पनि छुट दिनुपर्ने माग अघि सारेका छन् । चरम राजनीतिक अस्थिरताको फाइदा उठाउँदै देशको अर्थतन्त्र सीमित व्यक्तिको हातमा पुगेकोको अवस्थामा उत्पन्न जटिल आर्थिक संकटमा हातमुख जोर्न लघुवित्तबाट ऋण लिएकाहरु ऋण तिर्न नसकेर आत्महत्या गर्न बाध्य भइरहेकेको सन्दर्भमा महासंघले एउटै बैंकबाट अर्बौ रुपैयाँ ऋण लिएका ठूला व्यापारीलाई अनैतिक रुपमा ऋण नतिर्न छुट दिनुपर्ने एजेण्डा बोकेर केन्द्रीय बैंक पुगेको हो ।
नव निर्वाचित अध्यक्ष ढकालले हिजो राष्ट्र बैंकका गभर्नर अधिकारीसँगको भेटमा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रिय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावाँ ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने कडा माग गभर्नर अधिकारी समक्ष राखेका छन् । अध्यक्ष ढकालको उक्त माग केन्द्रीय बैंकले यस वर्ष चैत्रको अन्तिम साता ठूला व्यापारीहरुले गर्न खोजेको अर्बौ रुपैयाँ ऋण रिकल गर्न नदिएपछि उत्पन्न असहज परिस्थितिमा आएको हो । ठूला व्यापारिक घरानाको उद्योगहरु बन्द भई क्यास फ्लो ठप्प हुँदा अर्बौ रुपैयाँ ब्याज तिर्न सकेका छैनन् ।
राष्ट्र बैंकसँग अध्यक्ष ढकालले बैंकहरुमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताउँदै हाल तिर्न नसकेर अलपत्र परेको कर्जालाई पुनसंरचना गर्न माग गरेका हुन् ।
अध्यक्ष ढकाल आफै ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् । उनी अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकबाट प्रवाह भएको कर्जा मध्ये ठूलो रकम देशका नाम चलेका व्यापारिक समुहले ऋण लिएको छ । सो ऋणको सावा ब्याज गत चैत्र मसान्तमा असुल हुन सकेको छैन । गत चैत्रको अन्त्यमा रिकल गर्न भरमग्दुर प्रयास गर्दा पनि केन्द्रीय बैंकको सुक्ष्म निगरानीका कारण सफल भएका थिएनन् । अध्यक्ष ढकालले देशका नामुद १० भन्दा ठूलो समुह यस्ता समस्यामा परेपछि सबैलाई बैंकको ऋण नतिर्न छुट दिनुपर्ने माग गरेको देखिएको छ ।
महासंघको यस्तो माग सुनेपछि गभर्नर महाप्रसाद अधिकारीले महासंघले उठाएको मागलाई गम्भिरतापूर्वक लिई आगामी मौद्रिक नीतिको तेस्रो समीक्षामा केही सम्बोधन गर्न आश्वासन दिएका छन् । तर, गाउँ गाउँमा गरिबहरुले गाँस काटेर बैंकको सावा ब्याज असुल गर्ने र ठूला व्यापारीलाई छुट दिने निर्णय गर्छ वा अर्थतन्त्रलाई सुधारको दिशामा अघि बनाउन आर्थिक अनुशासनमा समान नीति लागू हुन्छ ? त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।











