नेपाल एसबिआई बैंकले कमायो १ अर्वभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।
समीक्षा अवधिमा बैंकले ४ अर्व १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी पुुगेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा २ अर्व ८५ करोड खुद ब्याज आम्दानी गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा ४४.७७ प्रतिशत बढेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ३०.७५ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३८.४५ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६३ पैसा बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८३ प्रतिशतविन्दु बढेर ०.९७ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरी समिक्षा अवधिसम्ममा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब १२ करोड पुर्याएको छ । हाल बैंकको जगेडा कोषमा ७ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ । चालु
आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकको निक्षेप १७.२३ प्रतिशत बढेको छ भने कर्जा १४.०९ प्रतिशत बढेको छ ।











