सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक रिर्पोट

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ११.५० प्रतिशत बढी हो ।
साविक सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको यस प्रभु बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ७५ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसंगै खुद नाफा वृद्धिमा थप टेवा पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको संचालन नाफा ६.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड ९४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा भने उक्त नाफा २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ, जगेडा कोष ८९.९८ प्रतिशतले बढेर १० अर्ब २७ करोड ९ लाख ५२ हजार रुपैयाँ, कर्जा लगानी ५५.३० प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ४५ करोड १९ लाख ५ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ८५ पैसा रहेको छ ।












