सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा २२.२४ प्रतिशतले कम हो ।
गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समिक्षा अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज अम्दानी बढेपनि संचालन मुनाफा घटेका कारण नाफामा सुधार नदेखिएको हो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १९.५४ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
साथै गत आवमा २ अर्ब १९ करोड ४ लाख रुपैयाँ रहेको बैंकको संचालन मुनाफा यस अवधिसम्म १९.२२ प्रतिशतले घटेर एक अर्ब ७६ करोड ९३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ । बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो ।
यस्तै, बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।












