माछापुच्छ्रे बैंकको खुद नाफा घटेपनि वितरण योग्य नाफा बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गतआवको तुलनामा १२.८८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्म बैंकले एक अर्ब ५५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १४.७८ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ६० करोड रुपैयाँमा सीमित थियो । यता ब्याज आम्दानी बढेपनि बैंकको संचालन मुनाफा घटेका कारण बैंकको नाफा प्रभावित बन्न पुगेको हो ।
तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.५१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो यस्तो मुनाफा ८२ करोड ८२ लाख रुपैयाँ थियो ।
बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने २४.७७ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब ६० करोड रुपैयाँ थियो । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर २.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.८७ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८१ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २४ करोड ९ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर १७.५७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.१७ रुपैयाँ थियो। पीई रेसियो १३.२६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५४.५ रुपैयाँ रहेको छ।












