इम्पेयरमेन्ट चार्ज बढ्दा कृषि विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

७ बैशाख २०८०, बिहीबार १२:२०

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रा त्रैमाससम्ममा १ अर्ब ४ करोड खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा ४५.३६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिसम्म बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ११.८६ प्रतिशतले बढेर ६ अर्ब २४ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो । साथै यस अवधिसम्म बैंकले १ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४८.१५ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेका कारण बैंकको नाफा प्रभावित बन्न पुगेको हो ।

बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो यस्तो मुनाफा २ अर्ब ८६ करोड रुपैयाँ थियो। बैंकले ८१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ५.४७ प्रतिशतले घटेर १० अर्ब ६० करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ थियो । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.३२ प्रतिशतमा सीमित थियो । खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २० करोड १२ लाख रुपैयाँमा सीमित थियो । समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर ७.९० रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*