खराब कर्जा बढ्दै जाँदा बैंकहरुलाई ऋण उठाउनै सकस, हिमालयन र दुई सरकारी बैंकको खराब कर्जा ४ प्रतिशतमाथि

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । संचालनमा रहेका २१ वाणिज्य बैंकले चैत मसान्तसम्म ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरुको यो नाफा गत वर्षको यसै अवधिसम्मको तुलनामा ११.६८ प्रतिशतले बढी हो ।
गत वर्षको तुलनामा बैंकहरुले नाफा बढाएपनि यता अधिकांश बैंकहरुको खराब कर्जा भने बढेको तथ्याङ्कले देखाएको छ । बैंकहरुको खराब कर्जा बढ्दै गएसँगै जोखिम पनि उत्तीकै बढ्दै जाने हुन्छ । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुको ‘नन पर्फमिङ लोन (एनपिएल)’ ३ प्रतिशतभन्दा बढी भएको खण्डमा लाभांश क्षमता घट्दै जाने हुन्छ ।
केन्द्रीय बैंकले बैंकहरुको यस्तो कर्जा ३ प्रतिशतभन्दा बढी रहेको खण्डमा लाभांश वितरणमा कडाई गर्ने गर्दछ । अर्थात् सो प्रतिशतमाथि एनपिएल भएका बैंकहरुलाई बोनस बाँड्नमा केन्द्रीय बैंकले लगाम लगाउने गर्दछ । साथै राष्ट्र बैंकले तीन प्रतिशतभन्दा माथि अर्थात् ५ प्रतिशतको हाराहारीमा रहेका बैंकहरुलाई जोखिमको विन्दुमा रहेको बैंकको आधारमा गन्ने गर्दछ ।
बैंकहरुले प्रकाशित गरेको तथ्याङ्कअनुसार ८ वाणिज्य बैंकको मात्रै खराब कर्जा सन्तुलनमा रहेको देखिएको छ । बाँकी १३ वटा बैंकको एनपिएल ३ प्रतिशतभन्दा माथि र सोमध्ये तीन वाणिज्य बैंकको एनपिएल भने ४ प्रतिशतभन्दा माथि रहेको छ ।
पछिल्लो समय विभिन्न उद्योगि व्यवसायी तथा मिटर ब्याजी पीडितहरुले बैंकहरुको चर्को व्याजदरविरुद्ध विरोध गरेका कारण अधिकांश बैंकहरुको खराब कर्जा बढ्न पुगेको देखिएको हो । मिटरब्याजी पीडित तथा उद्यम व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदर विरुद्धको आवाजहरु उठाएकाकारण पनि बैंकहरुमा यस्तो कर्जा झनै थपिन पुगेको हो ।
प्रकाशित विवरणअनुसार सबैभन्दा बढी खराब कर्जा हुने बैंकमा हिमालयन बैंक लिमिटेड रहेको छ । साविक सिभिल बैंकलाई प्राप्ति गरेको हिमालयन बैंकको यस्तो कर्जा यस अवधिसम्म ४.५६ प्रतिशत रहेको छ । यस्तो अवस्थाले बैंकको जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । खराब कर्जा बढ्दै जाँदा केन्द्रीय बैंकले समेत बैंकलाई थप निगरानी गरी लाभांश वितरणमा समेत कडाई गर्ने देखिन्छ । यस्तै, अर्को कृषि विकास बैंकको पनि यस अवधिसम्म ४.३५ प्रतिशत र नेपाल बैंकको ४.१६ प्रतिशत रहेको छ ।
त्यस्तै, ३ प्रतिशतभन्दा बढी वा सो भन्दा बढी एनपिएल हुने बैंकहरुमा सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी, ग्लोबल आइएमई, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रि वाणिज्य बैंक, नबिल, सनराईज, प्रभु र प्राइम कमर्सियल बैंक रहेका छन् ।
त्यस्तै, यता ८ वटा वाणिज्य बैंकको खराब कर्जा भने सन्तुलन रहेको देखिएको छ । सबैभन्दा थोरै खराब कर्जा हुने बैंकमा एभरेष्ट बैंक रहेको छ । बैंकको यस अवधिसम्म यस्तो कर्जा ०.७० प्रतिशतमा कायम रहेको छ । त्यस्तै, एनआइसी एशिया बैंकको पनि सो अवधिसम्म ०.८५ प्रतिशतमा एनपिएल कायम रहेको छ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.९० प्रतिशत, र नेपाल एसबिआई बैंकको ०.९७ प्रतिशतमा कायम रहेको छ । त्यस्तै, लक्ष्मी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबि बैंकको भने १ प्रतिशत भन्दा माथि रहेको छ ।












