तेस्रो त्रैमाससम्म गरिमा विकास बैंकले कमायो सवा ६५ करोड रुपैयाँ

८ बैशाख २०८०, शुक्रबार ११:३४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा १६.९२ प्रतिशतले कम हो ।

गत आवको तेस्रो त्रैमासमा बैंकले ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । बैंकले २ अर्ब ३८ करोड ४८ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको समिक्षा अवधिमा भने बैंकले १ अर्ब ८५ करोड ९१ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको संचालन नाफा ९३ करोड २ लाख ९४ हजार र वितरणयोग्य नाफा १८ करोड ७५ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ८० करोड ९० लाख ४९ हजार रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले ७३ अर्ब ८६ करोड ९९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ६५ करोड ५२ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा पनि बढेको देखिएको छ । सो अवधिमा बैंकको यस्तो कर्जा २.९५ प्रतिशत छ । खराब कर्जा बढेसँगै गरिमा विकास बैंकको नाफा प्रभावित बन्न पुगेको हो । यस्तै, बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*