मौद्रिक नीति समिक्षाको पर्खाइमा लगानीकर्ताहरु, शेयरबजारमा झिनो अंकको गिरावट, ११ उपसूचक राताम्य हुँदा बैकिङ्ग इन्डेक्स बढ्यो

१४ बैशाख २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ ।

केही दिनयता लगानीकर्ताहरु शेयरबजार प्रति निरुत्साही बन्दा शेयरबजारको अवस्था झनै नाजुक हुँदै गइरहेको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि लाइसेन्स दिने विषयले झनै नेप्सेमा गिरावट आउन थालेको छ ।

आम शेयर लगानीकर्ताहरु अब मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको प्रतिक्षामा बसेका छन् । मौद्रिक नीतिमा पुँजीबजार सुधारका निमित्त केही सबल नीतिहरु समावेश हुने आशामा लगानीकर्ताहरु रहेका छन् ।

आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग उपसूचक ०२४ प्रतिशत, होटल तथा पर्यटन उपसूचक १.८३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।

११ उपसूचक राताम्य हुँदा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसूचक १.२८ प्रतिशतले घट्न पुगेको छ । आम लगानीकर्ताहरुले पछिल्लो समय खस्किँदै गइरहेको पुँजीबजारको अवस्थाका कारण पनि शेयरमा लगानी गर्न हिच्किचाइरहेका छन् । यसैका वाबजुत पछिल्ला केही दिनयताका शेयरबजारमा कारोबार अर्ब समेत नाघेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*