नेपाल राष्ट्र बैंकद्वारा पूर्व गभर्नर विजयनाथ भट्टराईसहित ५ जना कर्मचारीलाई सम्मान

१५ बैशाख २०८०, शुक्रबार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरसहित पाँचजना कर्मचारीलाई सम्मान गरेको छ । केन्द्रीय बैंकले ६८औं वार्षिकोत्वसको अवसरमा पूर्व गभर्नर विजयनाथ भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

राष्ट्र बैंकको वार्षिकोत्वसको अवसरमा प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने परम्पराबमोजिम यस वर्ष पूर्व गभर्नर भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पूर्व गभर्नर भट्टराईलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् ।

पूर्व गभर्नर भट्टराइले २०६१ साल माघ १८ गतेदखि २०६६ साल माघ १७ गतेसम्म बैंकको गभर्नरको जिम्मेवारी सम्हालेका थिए । नेपालको आर्थिक, मौद्रिक एवं वित्तीय क्षेत्रको व्यवस्थापनमा पुर्याएको योगदानको कदरस्वरुप पूर्व गभर्नरलाई यसरी सम्मान गर्ने परम्परा रहँदै आएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले पाँच जना कर्मचारीलाई ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कार’ समेत प्रदान गरेको छ । बैंकको वार्षिकोत्वसको अवसरमा यसै वर्षदेखि कुशल कार्यसम्पादनका साथै बैंकको मर्यादा र प्रतिष्ठा अभिबृद्धिमा उल्लेखनीय योगदान पुर्याउने पाँचजना कर्मचारीलाई उक्त पुरस्कार प्रदान गर्न सुरु गरिएको हो ।

जसमा बैंकका सूचना प्रविधि विभागका उपनिर्देशक रामनाथ पण्डितलाई एक लाख रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिनेछ । त्यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागका उप निर्देशक मणिराज श्रेष्ठ, पोखरा कार्यालयका सहायक निर्देशक यशोधा पोखरेल, गभर्नरको कार्यालयका प्रधान सहायक लालकुमार सुवेदी र जनशक्ति व्यवस्थापन विभागका कार्यालय सहयोगी झनप्रसाद कोइरालालाई ५०–५० हजारका दरले प्रमाणपत्रसहित ‘नेपाल राष्ट्र बैंक उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गरिने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*