राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वित्तिय अवस्थाबारे राखेको मन्तव्य

१५ बैशाख २०८०, शुक्रबार १२:५९

काठमाडौं। २०८० साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र स्थिरताका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको छ ।

यस बैंकका पूर्व गभर्नरज्यूहरूलगायत अग्रजहरूलाई स्मरण गर्दै सम्मान व्यक्त गर्दछु । साथै, यस वार्षिकोत्सवको अवसरमा बैंकका उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका बैंकका सञ्चालक समितिका पदाधिकारी र सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

साथै, बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य निकाय, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्था, सञ्चारमाध्यम र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

२०७९ साल समष्टिगत आर्थिक व्यवस्थापनको दृष्टिकोणले चुनौतीपूर्ण रह्यो ।कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने क्रममा बाह्य क्षेत्रमा सिर्जित दबाबलाई सम्बोधन गर्न यस बैंकबाट विभिन्न नीतिगत प्रयास भए । साथै, यो वर्ष भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न पनि बैंक सक्रिय रह्यो ।

बैंंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा र परिमार्जन गरिए । बैंकको वार्षिकोत्सवको अवसरमा देशको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र गत वर्ष यस बैंकले अबलम्बन गरेका महत्वपूर्ण नीतिगत व्यवस्था तथा सम्पादन गरेका कार्यहरू प्रस्तुत गर्न चाहन्छु ।कोभिड–१९ को महामारीपश्चात् विश्व अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको बेला २०२२ फेब्रुअरीमा सुरु भएको रसिया–युक्रेन युद्धले गर्दा विश्वव्यापी रूपमा आपूर्तिजन्य व्यवधान, पेट्रोलियम पदार्थलगायत खाद्यान्न र निर्माणजन्य सामग्रीको मूल्य बढ्न गयो । मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले मौद्रिक नीतिमा गरेको कडाइका कारण नेपाली रुपैयाँ अमेरिकी डलरसँग अवमूल्यन हुन गयो । छिमेकी देश भारतले पनि बढ्दो मूल्यवृद्धि र पुँजी बर्हिगमनलाई रोक्न मौद्रिक नीतिलाई कडाइ गर्दै लग्यो ।

NRB-Samachar_2080-1

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*