ईङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।












