हकप्रद निष्काशनको तयारीमा रहेको आँखुखोला जलविद्युतको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडांै । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको आँखु खोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ७१.५८ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासमा ३ करोड ४ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११.२० प्रतिशतले घटेको छ । सो अवधिमा कम्पनीले १५ करोड ४५ लाख २१ हजार रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १७ करोड ३७ लाख बढी रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा प्रभावित बन्न पुगेको हो ।
समिक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ २५ पैसा रहेको छ ।
कम्पनीले कायम चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पुर्व स्वीकृतिको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गर्ने निर्णय गरेको छ ।












