शेयरबजारमा चार वाणिज्य बैंकको शेयरमूल्य ५०० रुपैयाँमाथि, किन बढ्दैछ लगानीकर्ताहरुको आकर्षण ?

काठमाडौं । शेयरबजारमा चारवटा वाणिज्य बैंकको शेयरमूल्य मात्रै ५०० रुपैयाँ भन्दा बढी रहेको छ । नबिल बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य धितोपत्र दोस्रो बजारमा ५ सय रुपैयाँमाथि रहेको छ ।
नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकमा अधिकांश बैंकको शेयरमूल्य २०० रुपैयाँको हाराहारीमा रहेको छ । पाँच सय भन्दा बढी शेयरमूल्य रहेका यी चारवटा वाणिज्य बैंकमा शेयर लगानीकर्ताहरुको आकर्षण बढ्दै गइरहेको छ ।
पछिल्ला केही दिन यता शेयरबजारमा यी चारवटा वाणिज्य बैंकको शेयर उच्च कारोबार भएको देखिएको छ । नबिल बैंक र एनआइसी एशिया बैंकको शेयर प्रायजसो सर्वाधिक कारोबार हुने टप १० कम्पनीभित्र परिरहेको हुन्छ । त्यस्तै, केही दिनयता एभरेष्ट बैंकको शेयर पनि सर्वाधिक कारोबार हुने टप १० कम्पनीभित्र पर्न थालेको छ ।
आइतबार शेयरबजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९४ लाख ४१ हजार ७३५ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । कम्पनीको शेयरमूल्य हालसम्म् ५२७ रुपैयाँ रहेको छ । त्यस्तै, एरभेष्ट बैंकको पनि २ करोड ४० लाख ३५ हजार ९९४ रुपैयाँको शेयर कारोबार भएको थियो । एभरेष्ट बैंकको शेयरमूल्य पनि ५३३ रुपैयाँ रहेको छ ।
त्यस्तै, आइतबार सर्वाधिक कारोबार हुने टप ४ कम्पनीमा नबिल बैंक रहेको थियो । उक्त दिन नबिल बैंकको ३ करोड २३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । बैंकको शेयरमूल्य ५९७ रुपैैयाँ रहेको छ । त्यस्तै केही समयअघि ८ सय रुपैयाँको हाराहारीमा शेयरमूल्य रहेको एनआइसी एशिया बैंकको शेयरमूल्य हाल ७२० रुपैयाँ रहेको छ । एनआइसी एशिया बैंकको शेयरमूल्य पनि लगानीकर्ताहरुको रोजाइमा पर्ने कम्पनी हो । आइतबार बैंकको १ करोड ८ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो ।
धितोपत्र दोस्रो बजारमा यी चारवटा वाणिज्य बैंक शेयर लगानीकर्ताहरुको रोजाइमा सदैव पर्ने गर्दछ । यी बैंकहरुको वित्तीय रिर्पोट अन्य बैंकको तुलनामा केही हदसम्म सकारात्मक देखिएकाले लगानीकर्ताहरुको रोजाइमा पर्न गएको हो ।
चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म अधिकांश बैंकहरुको नाफामा संकुचन आइरहँदा एभरेष्ट बैंकको नाफा भने करिब ६३ प्रतिशतले बृद्धि भएको छ । यसकारण पछिल्ला केही दिनयता एभरेष्ट बैंक लगानीकर्ताहरुको रोजाइमा पर्न गएको छ । एभरेष्ट बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँबाट बढेर २ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो । एभरेष्ट बैंकको सो अवधिसम्म वितरणयोग्य मुनाफा समेत सबैभन्दा धरै ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । गत आवको मुनाफाबाट समेत बैंकले शेयरधनीहरुलाई राम्रैै प्रतिफल वितरण गरेको थियो । यसकारण पनि एभरेष्ट बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिन पुगेको हो । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ९.२९ रुपैयाँ बढेर ३०.७४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, यता स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि तेस्रो त्रैमाससम्म पुग्दा एक अर्ब ६२ करोड रुपैयाँबाट मुनाफा बढाएर २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सो अवधिसम्म मात्रै २ अर्ब ५६ करोड रुपैयाँ वितरण गर्नको लागि छुट्याएको छ । त्यस्तैै, बैंकको प्रतिशेयर आम्दानी पनि १३.८८ रुपैयाँले बढेर ३६.९१ रुपैयाँ पुगेको छ । यसरी अधिकांश सूचक सकारात्मक देखिएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बैंकले गत आवको मुनाफाबाट मात्रै शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साथै धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने नबिल बैंकले पनि तेस्रो त्रैमाससम्म ५ अर्बभन्दा माथि मुनाफा कमाएको थियो । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी मुनाफा कमाउनेमा नबिल बैंक पहिलो बैंक हो । चैत मसान्तसम्म नबिलले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ भन्दा बढी नापाm कमाएको थियो । गत वर्षको तुलनामा बैंकले ५२.६३ प्रतिशतले नाफा बढाएको हो । यता बैंकले वितरणयोग्य मुनाफा एक अर्ब ७७ करोड २० लाख रुपैया छु्ट्याएको छ । बैंकले विगतको वर्षहरुमा शेयरधनीहरुलाई उत्कृष्ट लाभांश बाँड्दै आइरहेको छ । गत आवमा मात्रै बैंकले १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश बाँडेको थियो । यता बैंकको तेस्रो त्रैमाससम्म इपिएस बढेर २५.२१ रुपैयाँ पुगेको छ ।
साथै दुई वर्षयतादेखि शेयरधनीहरुलाई लाभांश नबाँडेको एनआइसी एशियामा लगानीकर्ताहरु किन झुम्मिएका छन् ? भन्ने आम लगानीकर्ताहरुको चाँसोको विषय बनेको छ । टेक्निकल एनलाइसिस गर्ने लगानीकर्ताहरुले कम्पनीले कति लाभांश दिए भन्दा पनि कम्पनीको वित्तीय रिर्पोट के कस्तो छ, र कम्पनीको शेयर किन्दा कतिको जोखिम छ या छैन त्यो हेर्ने गर्दछ । यता एनआइसी एशिया बैंकले दुई वर्ष लाभांश नबाँडेपनि बैंकले प्रकाशित गरेको वित्तीय रिर्पोटले बैंकको शेयर किन्न जोखिम कम हुने देखाएको कारण पनि शेयरबजारमा लगानीकर्ताहरु एनआइसी एशिया बैंकको शेयरमा आकर्षित छन् ।
तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा ११.३८ प्रतिशत बढी हो । सो अवधिसम्म बैंकले ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । बैंकको सो अवधिसम्म प्रतिशेयर आम्दानी ४.३५ रुपैयाँ बढेर ४६.२९ रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यी चारवटा वाणिज्य बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा बढ्न पुगेको देखिएको छ । नाफासँगै प्रतिशेयर आम्दानीका साथै अन्य सूचकहरुमा सकारात्मक सुधार देखिएकाले पनि लगानीकर्ताहरुको रोजाइमा यी चारवटा वाणिज्य बैंक पर्ने गरेको हो । तर शेयर लगानीकर्ताहरुले पूर्ण रुपमा नै वित्तीय विवरणको आधारमा मात्रै शेयर खरिद गर्न खोज्नु गलत हुनसक्छन् । लगानीकर्ताहरुले वित्तीय रिर्पोटका साथै अन्य टेक्निकल एनलाइसिस गरेर शेयर खरिद गर्दा मात्रै शेयर किनेर डुब्ने जोखिम कम हुन सक्छ ।












