लक्ष्मी लघुवित्तका नवनियुक्त सिइओ सुन्दर प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर प्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त सिइओ श्रेष्ठले वैशाख १८ गतेदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरी कार्य आरम्भ गरेका हुन् । श्रेष्ठ यसअघि संस्थामा नायब महाप्रबन्धक पदमा कार्यरत रहेका थिए ।
श्रेष्ठ २० वर्षदेखि वित्तीय क्षेत्रमा आबद्ध रहेका छन् । निर्धन उत्थान लघुवित्तको उच्च पदस्थबाट वित्तीय क्षेत्रमा पाइला टेकेका श्रेष्ठले तीन वटा वित्तीय संस्थामा अनुभव बटुलिसकेका छन् ।
निर्धन उत्थान लघुवित्तमा ४ वर्ष, आरएमडीसी लघुवित्तमा करिब ३ वर्ष, भैरहवास्थित पूर्णिमा विकास बैंकमा दुई वर्ष उनले काम गरिसकेका छन् । लक्ष्मी लघुवित्तमा ११ वर्षदेखि उनी आबद्ध रहेका छन् । संस्थामा नायब कार्यकारी अधिकृत पदमा रहेका श्रेष्ठ यसअघि सिइओ रहेका प्रकाश राज शर्माको कार्यकाल सकिएपछि उनी संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।
श्रेष्ठले त्रिुभवन विश्वविद्यालयबाट व्यवस्थापन विषय, समाजशास्त्र तथा मानवशास्त्र विषय र ग्रामिण विकास (आरडी)मा स्नाकोत्तर तह उत्तीर्ण गरेका छन् ।











