घरजग्गामा जाने बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ८२ प्रतिशतले घट्यो

काठमाडौं । घरजग्गामा जाने बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रकम एक वर्षको समीक्षा अवधिमा ८२ प्रतिशतले घटेको छ ।चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्र (रियल इस्टेट)मा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । जबकि गत वर्ष सोही अवधिमा घरजग्गा क्षेत्रमा २९ अर्ब ६ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो।
आवासीय घरजग्गामा ८ महिनामा २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ प्रवाह भएको छ । गत आर्थिक वर्षको सो अवधिमा ४ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । यो आर्थिक वर्षको ८ महिनामा व्यापारिक कम्प्लेक्समा १ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी भएको छ । जबकि गत वर्ष सोही अवधिमा ५ अर्ब ७० करोड ९५ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।
अन्य जग्गा खरिद र प्लटिङमा २ अर्ब १८ करोड ५१ लाख कर्जा ऋणात्मक छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा पहिले नै प्रवाह गरेको रकम अहिले उठाउँदा ऋणात्मक देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा पर्याप्त कर्जा प्रवाह हुन नसक्दा ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ । जग्गा खरिद र प्लटिङमा गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ८८ करोड ९९ लाख ऋण प्रवाह भएको राष्ट्र बैकंको तथ्यांक छ ।
चालु आर्थिक वर्षको ८ महिनामा ९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (डेढ करोडसम्म) प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ३९ अर्ब ४ करोड ५१ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।











