८ लघुवित्तको वित्तीय विवरणः ६ लघुवित्त संस्थाको मुनाफा घट्दा धौलागिरी नोक्सानमा, फर्स्ट माइक्रोफाइनान्सको १७ प्रतिशतले बढ्यो

काठमाडौं । हालसम्म आठ लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ । जसअनुसार हालसम्म ८ लघुवित्त संस्थाले मात्रै तेस्रो त्रैमाससम्मको रिर्पोट प्रकाशित गरेका हुन् ।
नौ महिना सकिएको थप एक महिना वित्न लागिसक्दा पनि लघुवित्तहरुले रिर्पोट प्रकाशित गर्न ढिलाइ गरिरहेका छन् । वित्तीय संस्थाहरुको लेखापरीक्षणको कार्यमा ढिलाई भएका कारण ५० भन्दा बढी संचालनमा रहेका संस्थाहरुमध्ये हालसम्म ८ ले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफामा उच्च गिरावट आएको देखिएको छ । गत आवको यसै अवधिको तुलनामा सार्वजनिक गरेका ८ लघुवित्त संस्थाहरुको नाफा ५५.२६ प्रतिशतले घटेको छ । ८ संस्थामध्ये धौलागिरी लघुवित्त भने ४१ लाख ६ हजार रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरणले देखाएको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका ८ लघु्वित्तमध्ये फर्स्ट माइक्रोफाइनान्स लघुवित्त संस्थाको मात्रै नाफा बढ्न पुगेको छ भने बाँकी ६ वटाको नाफा घटेको छ । त्यस्तै, एक लघुवित्तले नोक्सान बेहोरेको छ । ७ लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म यी ७ संस्थाले ७९ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।












