आरएमडीसी लघुवित्तको नाफासँगै अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ३.२० प्रतिशतले बढी हो ।
गत आवको चैत मसान्तसम्म संस्थाले २६ करोड ५९ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा दुबै बढेको कारण लघुवित्तको नाफामा सुधार देखिएको हो ।
चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी सामान्य बढेर ४६ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा पनि ३.२४ प्रतिशतले बढेर ३९ करोड २० लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको नाफामा सुधार देखिएसँगै यता संस्थाले वितरणयोग्य नाफा भने उल्लेख्य छुट्याएको छ ।
चालु आवको ९ महिनामा कम्पनीको वितरणयोग्य नाफा ९६ करोड ४३ लाख ६० हजार रुपैयाँ पुगेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १६९.५५ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ । कम्पनीले जगेडा तथा कोषमा पनि १ अर्ब २० करोड ९६ लाख ४७ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब कर्जा ०.४७ प्रतिशत मात्रै छ । कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ४१ पैसा कायम भएको छ ।











