बिजय लघुवित्तको खुद नाफा शतप्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।
संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ९८.०९ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवको ९ महिनासम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी २८ प्रतिशतले घटेर १८ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ९४.३३ प्रतिशतले घटेर ७७ लाख ७४ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
यता संस्थाको खराब कर्जा ४.६३ प्रतिशतबाट बढेर ७.९१ प्रतिशतमा पुगेका कारण पनि लघुवित्तको नाफामा शतप्रतिशत गिरावट आएको हो । समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ३२ करोड रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ४.२० प्रतिशतले बढेर कोषमा १४ करोड १६ लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ४ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने १ अर्ब १० करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ५१ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।












