नाडेप लघुवित्तको खराब कर्जाले सीमा नाघ्यो, खुद नाफा ८९ प्रतिशतले घट्यो

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।
संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ८९.९५ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवको ९ महिनासम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी २६.९४ प्रतिशतले घटेर २१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ९२.४७ प्रतिशतले घटेर ५३ लाख २५ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
यता संस्थाको खराब कर्जा ४.९२ प्रतिशतबाट बढेर ९.९१ प्रतिशतमा पुगेका कारण पनि लघुवित्तको नाफामा शतप्रतिशत गिरावट आएको हो । समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ४.७० प्रतिशतले बढेर कोषमा २४ करोड ३८ लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १६ पैसा रहेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ५ अर्ब १६ करोड ९६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने १ अर्ब ८६ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।












