लगानीकर्ताहरुको रोजाईमामा पर्ने जीवन विकास लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

२६ बैशाख २०८०, मंगलवार १२:०२

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४६.११ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म संस्थाले ६१ करोड ९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी सामान्य बढेपनि संचालन मुनाफा घटेका कारण नाफा प्रभावित बन्न पुगेको हो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १.९३ प्रतिशतले घटेर एक अर्ब १९ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिसम्म संस्थाले एक अर्ब २१ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । त्यस्तै, यता संचालन मुनाफा पनि ४६ प्रतिशतले घटेर ४७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिसम्म संस्थाको यस्तो मुनाफा ८७ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९१ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिमा एनपीएल ०.८३ प्रतिशत थियो । खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३१ करोड ७२ लाख रुपैयाँ पुगेको छ । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफा प्रभावित बन्न पुगेको देखिएको हो ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेकोमा संस्थाले तेस्रो त्रैमासमा ८ अर्ब ७० करोड रुपैयाँ सापटी लिई २२ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ९ अर्ब ४८ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

यो अवधिमा संस्थाको रिजर्भको आकार १४.९६ प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ९५ करोड २३ लाख रुपैयाँमा सीमित थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५२.८५ प्रतिशतले घटेर ३७.१४ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ७८.७७ रुपैयाँ थियो । पीई रेसियो ४०.५३ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६१.४५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*