एफवान सफ्टको गेटवेमा समस्या हुँदा क्युआर कोड लिएका लाखौं व्यवसायी प्रभावित

सहदेव भण्डारी
१३ जेष्ठ २०८०, शनिबार २२:२२

काठमाडौं । एफवान सफ्टको गेटवेमा समस्या आउँदा शनिबार देशैभरिका व्यवसायीहरुले चलाउँदै आएको क्युआर कोड सेवा प्रभावित भएको छ ।
क्युआर कोड भएका व्यवसायीहरुले ग्राहकले तिरेको पैसाको एसएमएस नआउँदा दिनभरजसो ग्राहकसँग झगडा गरेको र सम्बन्धी बिग्रेको गुनासो गरेका छन् ।

शनिबार लगनखेलस्थित खाद्यान्नको होलसेल व्यापारी श्री मेल स्टोरका सञ्चालकले दिनभरि हैरानी भोगे । उनको ९८५१०…. ३१ मा क्वुआर ट्रान्जेक्सनपछि आउनुपर्ने एसएमएस आएन ग्राहकले चामल लैजान खोजिरहेका थिए । रकम भुक्तानी भएको सफल भइसकेको थियो उनको म्यासेज आएन । यसअघि त्यसैगरी, सफल भयो भनेर आएको कारोबार म्यासेज नआउँदा पछि ग्राहककै खातामा फर्केर धोका खाएका उनले शनिबार एसएमएस नआउँदासम्म सामान नदिने अडान राखे । उनी मात्रै होइन पसलमा आएका अर्का एक जना ग्राहकले त एसएमएस नआएको कारण ५०० रुपैयाँ छोडेरै हिडे । शुक्रबार साँझदेखि नै यो समस्या भोगेका उनले आजदेखि सनराइज बैंकको क्युआर कारोबार बन्द गरिएको जनाए । उनले भने, ‘ग्राहकलाई क्युआर कोडबाटै तिर्छु भने मैले चलेको छैन भन्दा पनि पत्याएनन्, नभन्दै एसएमएस आएन । हिजोको एसएमएस आज बल्ल आएको छ हुँदैन भन्दा पनि पत्याएनन् । मेरो व्यवसाय जोखिममा पार्न चाहन्छ भोलि पैसा आएन भने कहाँ खोज्न जाने, अस्तिन यसरी नै धोका खाइसकेको छु ।’

एक दुई रुपैयाँको लागि काम गरेका हुन्छौं । सयौं हजारौं रुपैयाँको कारोबारमा एसएमएस नआउँदा कसरी विश्वास गर्ने ? कहिले ति सबै कारोबार हेरेर बस्ने ? उनले प्रश्न गरे ।

लगनखेलका मेल स्टोरका सञ्चालक जस्तै शनिबार देशैभरिका क्युआरमार्फत आर्थिक कारोबार गर्ने व्यवसायीहरुले हैरानी व्यहोरेका छन् । लगनखेलका मार्टका सञ्चालकले आज विहान ४।५ वटा कारोबारको एसएमएस नआएपछि क्युआर कोडबाट भुक्तानी बन्द गरिएको बताए । त्यस्तै, गोदावरी नगरपालिकाका खड्का खाद्य स्टोरको क्युआर कोडको सोही नियती थियो । कारोबार सफल देखाउने तर एसएमएस नआउने समस्या ।

एफवान सफ्टले क्युआर कोडमार्फत हुने कारोबारको सेटलमेन्ट भोलिपल्ट वा सोही दिन राति मात्रै गर्दै आएको छ । रियलटाइम सेटलमेन्ट नहुँदा समस्या पर्ने व्यवसायीहरुको गुनासो छ । एक सुमन महर्जनले भने, ‘एसएमएस नआए पनि बैंक खातामा रकम आए पनि भेरिफिकेशन सहज हुन्थ्यो त्यो पनि छैन । हामी व्यापारीले पैसा नआए कहाँ खोज्दै हिड्ने ?’

व्यवसायीहरुका अनुसार क्युआर कोडमार्फत झुक्तानी गर्दा सम्बन्धित व्यक्तिले रकम नपाएमा कारोबार संकेत नम्वर (ट्रान्जेक्स कोड) का आधारमा मात्रै खोजि गर्न सकिने भन्दै एसएमएस नदेखाई कुनै सुनुवाई नगर्ने गरेको दुखेसो छ । अनि मोबाइलमा आउनुपर्ने उक्त कोडसहितको म्यासेज नआउँदा समस्या परेको बताए ।
सो सम्बन्धमा एफवान सफ्टको कल सेन्टरमा टेलिफोन गरी कारोबारको म्यासेज नआएको सम्बन्धमा जिज्ञाशा राख्दा नेपाल टेलिकमको गल्ती भएको बताए । ति कर्मचारीले हिजोदेखि एसएमएस नगएको स्वीकार गरे । उनले भने, ‘म्यासेज गरेको छैन, टेलिकमको समस्याको कारण यस्तो भएको हो ।’

तर, टेलिकमका उच्च अधिकारीका अनुसार टेलिकमका सिष्टममा कुनै समस्या आएको छैन । बरु एफवान सफ्टको गेटवेमै समस्याको कारण यस्तो भएको हुनसक्ने बताए । एवानसफ्टको गेटवेले कारोबार सफल पारे पनि सम्बन्धित नम्वरमा पठाउनुपर्ने म्यासेज नपठाएको बताए । एफवान सफ्टको गेटवेबाट शुक्रबारदेखि नै म्यासेज संकेत पठाउन नसकेको बुझिएको छ । एफवान सफ्टले प्रभावकारी र प्रयोगकर्ता अनुरुपको सिष्टम बनाउन नसक्दा पटक पटक यही समस्या दोहोरिरहेको छ । जसका कारण ग्राहक र व्यवसायीबीचमा झगडा समेत हुने गरेको छ । एफवान सफ्टको त्रुटीका कारण कारोबारमै समस्या हुन थालेपछि क्युआर कोड प्रयोग गर्न छोड्नुपर्ने अवस्था आएको बताए । सेवाको गुणस्तरीयताकै कारण राजधानीमा सञ्चालित कैयौं पेट्रोल पम्पहरुले क्युआर कोड सेवा सञ्चालन गरेका छैनन् ।

एफवान सफ्ट इसेवाको माउ कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*