मर्जर प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा यही असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा आह्वान गरेको हो । सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र सर्वसाधारण शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।
सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र र नियमावलीमा कुनै विषयमा संशोधन एवं पविर्तन गर्न निर्देशन भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्नेलगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
संस्थाले साधारणसभा प्रयोजनार्थ असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १४ गते (असार १५ गते शुक्रबार र असार १६ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।











