कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो। २०७९ साउन १८ गते जारी गरिएको निर्देशनबमोजिम ब्याजदर निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो।
गत साउन १८ गते राष्ट्र बैंकले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, सतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीमूलक व्यवसाय एवं उद्यम–व्यवसाय ९आयातसम्बन्धी व्यवसायबाहेक० सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ।
यदि कसैले यस किसिमको कर्जा लिइसकेको वा लिने तयारी भइरहेको छ भने आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने सम्बन्धित संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न पनि आग्रह गरिएको छ।












