बैंकको ऋण नतिर्ने वाहाना खोज्दै दुर्गा प्रसाई, अन्तरिम आदेशको माग गर्दै पुगे दुर्गा प्रसाईं अदालत

१९ असार २०८०, मंगलवार ११:१०

काठमाडौं । बैंकको ऋण नतिर्ने वाहाना खोज्दै दुर्गा प्रसाइ बैंकले ऋण तिर्न पत्र पठाएपछि अन्तरिम आदेशको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्।
कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न÷नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् ।

उच्च अदालत विराटनगरको इलाम इजालशले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर, प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ । अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई असार २० गते बोलाइएको छ ।
प्रसाईंको पक्षबाट बी एण्ड सीका प्रशासकीय अधिकृत टिकाप्रसाद अधिकारीले रिट दायर गरेका थिए ।

कुमारी बैंकले २०८० वैशाख १ गते ऋण तिर्न ताकेता गर्दै पठाएको पत्र कार्यान्वयन भएमा धितोहरु समेत लिलाममा गइ कालोसूचीमा समावेश गर्ने प्रवल सम्भावना रहेको र उपकरण अभावमा सेवा संचालन गर्न समेत बाधा अवरोध हुने हुँदा उक्त पत्र तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी प्रसाईंका तर्फबाट अधिकारीले रिटमार्फत अन्तरिम आदेशको माग गरेका थिए । तर अदालतले भने यसलाई अस्वीकार गरेको हो । छलफलका लागि बोलाइएको मितिसम्म ऋण असूलीको कुनै पनि कानूनी प्रकृया अघि नबढाउन अदालतले बैंकलाई आदेश दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*