अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, १२ लाख बढीको हात खाली

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडेले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज (असार १९) गते प्रिअलटमेन्टको काम सम्पन्न भएको आईपीओ असार २२ गते बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा बाँडफाँड गर्ने तयारी भएको छ ।
कम्पनीले असार १० गतेदेखि निष्काशन गरेको आइपीओ अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ आवेदकबाट १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० लाख कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको र बाँकी २९.५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५०० कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको आईपीओ बाँडफाँड गरीसकेको छ । त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपीओमा आवेदन गर्ने ५३ हजार ९५० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने भएका छन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खालि हुने छ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आइपीाओ बाँडफाँड गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।












