अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
२१ असार २०८०, बिहीबार १०:२७

काठमाण्डौ । अपी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज असार २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्तापुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।












