नक्कली नोटसहित काठमाडौंबाट ३ जना पक्राउ
२४ श्रावण २०८०, बुधबार ०९:५६

काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट सशस्त्र प्रहरीको टोलीले ३ जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको डेरा कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थान बरामद भएको छ । यसैगरी मोबाइल चार थान, सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
बरामद गरिएको सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।











