ग्लोबल आइएमई लघुवित्तको नाफामा ४६.४४ प्रतिशतले गिरावट, कस्ता छन् अन्य सूचक ?

२६ श्रावण २०८०, शुक्रबार १०:३५

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त संस्थाको खुद नाफामा गिरावट आएको छ । समिक्षा अवधिमा संस्थाको खुद नाफा ४६.४४ प्रतिशतले घटेर १२ करोड ८७ लाख रुपैयाँमा सीमित रहेको छ । संस्थाले अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म संस्थाले १८ करोड ५८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३४ करोड ३४ लाख रुपैयाँ रहेको थियो । यो हिसाबले संस्थाको सञ्चालन मुनाफा पनि ४५.८९ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि ७.२६ प्रतिशतले घटेर ५० करोड २० लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५४ करोड १४ लाख रुपैयाँ भएको थियो ।

असार मसान्तसम्ममा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.६४ प्रतिशत थियो । एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज १ करोड ६७ लाख रुपैयाँमा सीमित थियो ।

चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार भने १६.१४ प्रतिशतले बढेर ५२ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४५ करोड ५२ लाख रुपैयाँ थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५२.१७ प्रतिशतले घटेर २०.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४३.५१ रुपैयाँ थियो ।संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०.९९ गुणा र प्रतिसेयर नेटवर्थ १८५.४३ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*