बैंकिङ सिष्टमबाट २२ दिनमा ४३ अर्ब गायब, नक्कली निक्षेप कि पुँजि पलायन ?

काठमाडौं । साउन १ गतेदेखि यता नेपाली बैंकिङ च्यानलबाट ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकिङ प्रणालीबाट दैनिक झण्डै दुई अर्बको दरले रकम हराउन थालेपछि आर्थिक संकट पुनः निम्तिने जोखिम बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाली बैंकिङ प्रणालीमा साउन लागेपछि कूल एक खर्ब ३३ अर्ब रुपैयाँ कर्जायोग्य निक्षेप घटेको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार साउन १ गतेदेखि स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई तरलतामा गणना गर्न पाइने व्यवस्था रहेकोमा हाल सो व्यवस्था हटाइएको छ । उक्त व्यवस्था हटाइँदा ९० अर्ब रुपैयाँ लगानीयोग्य रकम तरलता घटेको छ ।
त्यस बाहेक बैंकहरुबाट औपचारिक रुपमा ४३ अर्ब रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । सो रकममा हालै बैंकबाट प्रवाह भएको कर्जा २३ अर्ब सहित थप हुँदा अझै बढि रकम बैंकिङ प्रणालीबाट हराएको छ ।
यति छोटो अवधीमा यति धेरै रकम कहाँ गयो ? भन्ने प्रश्नको जवाफ केन्द्रीय बैंकका अधिकारीहरुसँग छैन । बैंकिङ प्रणालीबाट एकाएक ठूलो रकम हराउनुको पछाडि बैंकहरु आफैले फर्जी निक्षेप देखाएर आर्थिक वर्षको हिसाब मिलान गरेको वा पुँजि बिदेश पलायन भएको दुई मध्ये एक हुनसक्ने विश्वास गरिएको छ ।
देशको आर्थिक र राजनीतिक अवस्था सही हालतमा नभएकोले नेपालबाट दिनहुँ ठूलो मात्रामा पुँजि पलायन हुने क्रम बढ्दो छ । त्यस्तै, बैंकका सिईओ तथा उच्च पदस्थ अधिकारीहरुले नैतिकता बिर्सेर अनैतिक धन्दाहरु चलाउने क्रम पनि बढि नै रहेको छ । यसअघि बैंकहरुले कीर्तिम निक्षेप देखाएर आर्थिक वर्षको अन्त्यमा हिसाब मिलान गर्ने गरेका थिए । यस पटक पनि कतिपय बैंकहरुमा यस्तै धन्दा चलेको विश्वास गरिएको छ ।











