धितोपत्र बोर्डलाई कृषि विकास बैंकको जवाफ– मानवीय त्रुटी भएको हो, लगानीकर्तालाई फसाउने मनसाय हैन

काठमाडौं । धितोपत्र बोर्डमा कृषि विकास बैंकले स्पष्टिकरण पत्र पेश गरेको छ। बोर्डले गत साता शेयर बजार प्रभावित पारेको भन्दै बैंकलाई सचेत पत्र सहितको स्पष्टिकरण पेश गरेको थियो ।
बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरणमा प्रतिशेयर आम्दानी १९ दशलव ८१ प्रतिशत गलत तथ्यांक सम्प्रेषण गरी पुन सच्चाउदै दोस्रो भुलसुधार पत्रमा प्रतिशेयर आम्दानी १४।९२ प्रतिशत रहेको घटनालाई लिएर बोर्डले स्पष्टिकरण सोधेको थियो ।
उक्त पत्रको जवाफ दिँदै बैंकले योजनावद्ध ढंगबाट शेयर बजार हलचल गर्ने मनसाय नभएको र मानविय त्रुटी भएको जनाएको छ।बोर्डले उक्त बिषयमा बैंकलाई जरीवाना लगाउने वा मानविय त्रुटी भएको कारण छुट दिने भन्ने अझै टुगाें लगाएको भने छैन ।
सोझा लगानीकर्ता फसेको भन्दै बैंकका संचालक समितिका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ, वित्त तथा लेखा विभागका विभागीय प्रमुख नासु अधिकारीसहितलाई कारबाहीको माग गर्दै उजुरी परेको बोर्डमा यसअघि उजुरी समेत परेको थियो ।
उजुरीमा आर्थिक लाभ लिएर सूचनामा तोडमोड गरेको आरोप समेत लगाइएको छ। उजुरीमा सोझा लगानीकर्तालाई फसाउने कार्य गरी धितो पत्र ऐन, २०६३ को परिच्छेद–९ को दफा ९१, दफा ९२ दफा ९७, दफा ९८ र दफा ९९ मा भएको व्यवस्था विपरित हुने गरी कार्य गरेको आरोप समेत लगाइएको थियो ।
बैंकको शेयरको मूल्यमा उल्लेख्य वृद्धी भइ कारोबार भएको कारण अझ बढी मूल्य बढ्न सक्ने भ्रम पैदा भएकोले बैंकको सेयर खरिद गर्दा सर्वसाधारण सोझा सेयर लगानीकर्ताहरुले आर्थिक क्षति व्यहोर्नु परेको आरोपसमेत उजुरीमा उल्लेख गरीएको थियो ।
आफ्नो अधिकारको चरम दुरुपयोग गरी बैकको साख र विश्वशनियतामा समेत गम्भीर असर पुयाइ माथि उल्लेखित कसुरहरु गरेको हुँदा निजहरुलाई प्रमाण नष्ट गर्ने सम्भावना भएकोले तत्काल निलम्बन गरी धितोपत्र ऐन, २०६३ को परिच्छेद–९ को दफा १०१ मा निर्दिष्ट गरिएको व्यवस्था अनुसार हदै सम्मको कारवाहीको लागि माग गरिएको थियो ।
उजुरीकर्ताले अर्थमन्त्रालय देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई छानविन गर्न माग गरेको छ।











